Ultimate magazine theme for WordPress.

बिहे गर्न सरकारी जागिरे केटा नै चाहिने!

142

केटा राम्रो छ नि! अधिकृत छ, त्यो पनि सरकारी। जिन्दगी नै धन्न हुनी हो पछिपछि त। फलाना हाकिमकी बुढी भन्लान् सबले। समाजमा इज्जत पनि प्रसस्तै पाइन्छ। नातागोतामा पनि कसैको छैन हाकिम ज्वाइँ। रवाफै छुट्टै हुन्छ। जिन्दगी सप्रिन्छ। उमेर छँदै गर्नुपर्छ बिहे भन्ने चिज।’ आदि इत्यादिजस्ता कारण देखाइ कन्भिन्स गरिन्छ हाम्रो समाजमा बिहेका लागि।

लगभग यस्ता कुरा सबै केटीलाई सुन्नुपर्ने हुन्छ। मलाई पनि सुन्नु पर्छ। सबैको अभिभावकले आफ्नो छोराछोरीले राम्रो जीवनसाथी पाउन भन्ने चाहन्छन्।

मेरो हजुरआमालाई पनि धोको छ मेरो बिहे हेर्ने। राम्रो ज्वाइँ हेर्ने। नातिनातिना खेलाउने। झन् त्यसमा केटो सरकारी जागिरे छ भने त उहाँलाई यो केटा नै नेपालको अन्तिम सरकारी जागिरे हो कि जस्तो लाग्छ। मरिहत्ते गर्नुहुन्छ मेरो बिहेको लागि।

पहिला-पहिला त त्यति ध्यान नै दिन्नथें यो भाराभुरे कुरामाथि। हावा हो भन्थे। तर पछिपछि यही भाराभुरे कुरा नै हाम्रो समाजमा जरो गाडेको तीतो सत्य हो जस्तै लाग्न थाल्यो।

उहाँ मलाई फकाउन, मनाउन, कन्भिन्स गर्न सक्दो उपाय गर्नुहुन्छ। म उहाँको कुरा काट्ने, नसुन्ने, टार्ने पूरा प्रयत्न गर्छु। फेरि पनि न त उहाँको कोसिस कम हुन्छ न त मेरो प्रयत्न नै। वैशाख, असार, मंसिरजस्ता महिना मलाई‌ मन पर्न छाडेका छन्। आफन्तको बिहेमा म जान छाडेको छु।

आफ्नो उमेरको कसैको बिहे हुनु पनि एक समस्या हो।

‘उसको भयो तैंले किन नगर्ने’ भन्ने तनाव दिन थाल्छन् घर, परिवार र समाजले।

बस यही यस्ता विभिन्न कारण र विभिन्न बहानाले म आफ्नो‌ कुरा उपल्लो राख्ने प्रयास गर्छु।

हो, होइन गर्दागर्दै एक दिन पनि काटियो भने मलाई ठूलो युद्ध विराम भएझैं लाग्छ। उमेरको दोष भन्छन् हो रैछ।

जति गर्दा पनि, जति टार्दा पनि कुरा टारिन्न। न त म थाक्छु न त उहाँ। उहाँले खै केटा कहाँबाट पाउनुहुन्छ। म मस्केेर कहिलेकाहीँ हजुरआमाले जति केटा पत्ता लगाउनुहुन्छ त्यति खोजबिनमा त कोरोनाको औषधि पत्ता लाग्ला नि भन्ने गर्छु।

तर म जति मस्कें नि उहाँ आफ्नो जिन्दगीको सिंगो लक्ष्य मेरो बिहेको मुद्दाबाट विमुख हुनुहुन्न।

‘नाइँ गर्दिनँ’ अहिले बिहे। आफैं पढ्न मन छ। केही बन्न मन छ। मामु, हाकिम्नी बन्न मन छ नि। जीवन साथीको लागि पहिले आफ्नो जीवन त बनाउनु पर्‍यो नि हैन र मामु?

के भयो ज्वाइँ सरकारी जागिरे नहोला प्राइभेट नै सही एक जागिरेभन्दा हामी दुइटै प्राणी जागिरे होऔंला नि! हुन्न र? के भयो ज्वाइँको ठूलो सरकारी गाडी नहोला, सानै भए मेरै स्कुटीमा पछाडि बसेर आउनुहुन्छ नि। हुन्न र?

के भयो मलाई नि आफ्नो पैसाले नेपाल घुम्ने र हजुरहरूलाई घुमाउन मन छ‌ भनेर ममीलाई पनि आफ्नोतर्फ तान्ने कोसिस गर्छु तर ममीले पनि सिधै हजुरआमासँग हो होइन जस्तो मुद्दामा कहिले डाइरेक्ट नबोलेर होला बोल्नै अप्ठ्यारो मान्नुहुन्छ।

तर छोरीको‌ माया लागेर पनि होला सकेसम्म मिलाउन कोसिस गर्नुहुन्छ। मैले भनेको शब्दहरूमा अलिक थपथाप गरेर अलिक काँटछाँट गरेर मेरो नाइँ हजुरआमासम्म बंग्याएरै सही पुर्याइदिने गर्नुहुन्छ।

मेरो हजुरआमाको अनुसार यो मेरो बिहे गर्ने सही समय हो। अब पनि मैले बिहे नगरे ढिला हुन्छ क्यारे। फेरि पछिपछि मैले राम्रो केटा पाउन गाह्रो हुन्छ।

हैन मैले नबुझेको कुरा चाहिँ के हो भने यो बिहेको सही समय भन्नाले के बुझिन्छ? मलाई लाग्दैन बिहेको सही समय तोक्ने कुनै खास मापदण्ड छ। त्यो त व्यक्तिपिच्छे फरक-फरक हुन सक्छ नि!

कसैलाई २० वर्ष नै सही लाग्न सक्छ भने कसैको लागि ३५ पनि अनुपयुक्त हुन सक्छ।

फेरि म आत्मनिर्भर भएपछि, आफ्नो सपना पूरा गरिसकेपछि, झन् परिपक्व भइसकेपछि, दुनियाँलाई बुझिसकेपछि यदि कुनै केटाले मसँग बिहे गर्न नकार्छ भने हजुरआमा त्यो राम्रो केटा नै हैन भन्ने कुरा बुझ्नु न! हस्?

अब रह्यो कुरा कि केटा सरकारी जागिरे छ भने, केटा सरकारी जागिरे भएको कारणले मात्रै बिहे गर्नु कतिको सही हो त? के कसैको बाँकी गुण नहेरी मात्रै सरकारी जागिरलाई मध्यनजर राखेर बिहे गर्नु सही हो त? मेरो हजुरआमालाई ठिक लागे पनि सरकारी जागिरे हो भन्दैमा सुखी राख्छ भन्ने सम्भावनाले मात्रै बिहे गर्नु मलाई त बेठिक लाग्छ।

यहाँ श्रीमान र प्रेमी भगवानै भएको सीता र राधाले त जिन्दगीमा सुख पाउनै सकेका छैनन्। झन् मानिससँग आशा राख्नु त व्यर्थै लाग्छ है मलाई।

यसको मतलब यो पक्कै पनि हैन कि म आफ्नो भविष्यप्रति निराशावादी छु। मैले चाहेको यतिमात्रै हो कि मेरो आफ्नो पक्ष बलियो होस्।

म कसैको श्रीमतीमात्रै हैन, जीवनसाथी बन्न चाहन्छु। म चाहन्छु कि जिन्दगीका हर क्षणमा म पनि सुख दुःखको साथी बनूँ। ममाथि पनि कसैलाई भर होस्। मेरो काँधमा पनि कसैले आफ्नो जिम्मेवारीको भार बिसाउन सकोस्।

म पनि कसैलाई जिन्दगीको कठिन परिस्थितिबाट उज्यालोमा ल्याउन सक्ने साहस बोक्न चाहन्छु। म कसैको प्रेरणाको स्रोत बन्न चाहन्छु।

हजुरआमा! म बिहेपछि श्रीमती मात्रै हैन, जीवनसाथी बन्न चाहन्छु। सेताेपाटीबाट