Ultimate magazine theme for WordPress.

चार-पाँच करोड पैसा पेल्दा पनि चुनाव नजितिने भयो: प्रचण्ड

35

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्दा पनि चुनाव जित्ने अवस्था नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारीको २२औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूसँग भन्दा अरुसँग नै पैसा धेरै भएको र खर्च गर्दा पनि चुनाव जित्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

‘चुनाव जित्न पनि चार–पाँच करोड पैसा खर्च गर्नुपर्ने भयो । त्यति खर्च गर्दा पनि जित्न सक्ने अवस्था छैन किनभने हामीसँग भन्दा अरुसँग नै पैसा बढी छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले अब पैसाबिना चुनाव लड्ने सक्ने अवस्था नभएको पनि बताए । ‘सामान्य गाउँपालिकामा लड्न पनि १० देखि ५० लाख, प्रदेशमा लड्दा एकदेखि दुई करोडसम्म र केन्द्रमा लड्न चारदेखि पाँच करोड पैसा चाहिने भयो । यस्तो हुँदा हामी चुनाव लड्न नसक्ने भयौं,’ उनले भने ।

उनले पहिलो संविधानसभाको निर्वाचन बिनापैसा जितेको पनि स्मरण गरे । ‘०६४ को चुनावमा हामीले पैसा खर्च गरेकै होइन । बिना पैसा हामीले चुनाव जितेका थियौं,’ उनले भने, ‘उठेको पैसा पनि हामीले बचत गरेका थियौं ।’

अध्यक्ष प्रचण्डले पार्टीलाई पैसा दिने कोही नभएको र पैसा माग्ने मात्रै हावी भएको बताए । ‘अध्यक्षको अहिले हालत खराब भएको छ । अध्यक्षबाट पैसा माग्ने बढेका छन् तर पार्टी र अध्यक्षलाई पैसा दिने कोही छैनन्,’ उनले भने ।