Ultimate magazine theme for WordPress.

बिवाह गर्दा पनि गाली, गर्भवती हुँदा पनि गाली, आखिर प्रियंका प्रति यति धेरै घृणा किन ?

490

काठमाडौं । सामाजिक सञ्जाल चहार्ने हो भने गर्भवती प्रियंका कार्कीको जोडीबारे सकारात्मक भन्दा नकारात्मक टिप्पणी धेरै भेटिन्छ । उनले पोस्टाएका तस्वीरहरुमा तीखो वाणी रोपीहाल्छन् सामाजिक सञ्जाल प्रयाेगकर्ता । आज मात्रै पनि प्रियंकाले नयाँ तस्वीर सार्वजनिक गर्नेबित्तिकै प्रतिक्रियाको बाढी नै लाग्यो । गर्लस् ग्याङ्गसँग स्विमिङ पुलमा मस्ती गरिरहेको तस्वीरमा धेरैले गाली गरेका छन् उनलाई ।

कतिले प्रियंकाले ‘नाटक नै धेरै’ गरेको टिप्पणी गरेका छन् भने कतिले ‘भयो अब पुग्यो, छिटो बच्चा जन्माउ, नाटक नदेखाउ’ भनिरहेका छन् । कतिले भने ‘कसैले नजन्माएको बच्चा प्रियंका जोडीले नै जन्माउन लागेको रहेछ’ भनेर आलोचना गरिरहेका छन् ।

कतिले प्रिंकालाई इज्जत छैन ? भनेर प्रश्न समेत गरेका छन् ।

यसअघि प्रियंकाले आफू गर्भवती भएको खबर सार्वजनिक गर्दा पनि यति नै आलोचना भएको थियो । उनले एक तस्वीर पोष्ट गर्दै लेखेकी थिइन् – ‘हो, हामी गर्भवती छौँ ।’ ‘बच्चा कस्तो जन्मेला ? आँप को कोया झै जन्मेला’, ‘कुनै जमानामा भाइ बनाएको मान्छे एउटा बच्चाको पिता हुँदैछ’ भन्दै अपाच्य किसिमका नानाथरी भद्दा मजाक बनाइयाे त्यसबेला । पुरुष कहिलेदेखि गर्भवती हुन थालेछन् भनेर खिसी उडाए ।

आखिर प्रियंका जोडीप्रति यति धेरै घृणा किन ?

बिवाह गर्दा पनि गाली, गर्भवती हुँदा पनि गाली, तस्वीर र स्टाटस पोष्ट गर्दा पनि गाली ? आयुष्मानले उनको केयर गर्दा होस् या उनले केही बोल्दा होस् मानिसहरु किन यतिधेरै पिछडिएको टिप्पणी गरिरहेका छन् यो जोडीप्रति ? आखिर गल्ती के छ उनीहरुको ?

आयुष्मानले गर्भवती श्रीमतीको हेरविचार गर्नु गल्ती हो ?

अथवा घृणित र संकुचित सोच बोकेका फ्यानहरुको प्रतिक्रियाको ख्याल नगरी रमाएर गल्ती गर्याे याे जाेडीले ?

हुन त हाम्राे नेपाली समाजमा श्रीमतीकाे पीडामा श्रीमान् दुख्ने, गर्भवती हुँदा हेरिविचार गर्ने परिपाटि अझै बनिसकेकाे छैन । श्रीमतीलाई कुटपिट गर्ने, अघि बढ्न नदिने, खुट्टा तान्ने चलन जाे छ । श्रीमती गर्भवती हुँदा उनको हेरविचार गर्नुको सट्टा बरू पुरुषहरु अवैध सम्बन्धतिर आकर्षित हुन्छन् । उनको हालखबर समेत सोधिँदैन ।

सुत्केरी हुँदा त झन् कति दिनसम्म पुरुषले छुनै नहुने चलन छ, जुन श्रीमतीलाई श्रीमानको आवश्यकता पर्ने समय हो । हाम्रो समाजमा महिलालाई सन्तान जन्माउने र आफ्नो इच्छापुर्ति गर्ने भाँडो मात्रै सम्झिन्छन् पुरुषहरुकाे बाहुल्यता भएकै कारण ‘आयंका’ जोडीको खुशी अपाच्य लागेकाे हुन सक्छ !

जति नै नराम्राे प्रतिक्रिया दिएपनि महिलाहरूले आयुष्मान जस्ताे समझदार श्रीमान् पक्कै पाउँदैनन्, न पाएका नै छन् ।

यति कसैले आफ्नाे नियतमा खोट नराखी नियाल्ने हाे भने केवल श्रीमान्-श्रीमतीबीचकाे प्रेम देख्नेछन् याे जाेडीकाे गतिविधिमा ।

उनीहरू सामाजिक सञ्जालमा आएर हाँसून् या राेउन्, छाेटाे लुगा लगाउन् या शरीर ढाकून् त्याे उनीहरूको व्यक्तिगत स्वतन्त्रता हो । नग्न भएर हिँडेका त पक्कै छैनन् । मन नपरे अनफलो गर्न सकिन्छ, गाली गरिरहनु आवश्यक छैन एक आमा बन्दै गरेकी नारीलाई ।

बरू गर्भवती हुँदा हरेक नारीले उनले जसरी नै खुलेर जिउन पाउनुपर्छ/सक्नुपर्छ । यस्ताे समयमा हर्माेनका कारण मुड चेन्ज भइरहने हुँदा कति महिलाले पारिवारिक समस्या झेल्नु परेकाे छ, यस्ताेमा उनीहरूकाे जाेडीबाट धेरै कुराकाे प्रेरणा लिन सकिन्छ ।

गर्भवती हुँदा श्रीमतीकाे केयर कसरी गर्न सकिन्छ भनेर परिवार विहिन एक श्रीमानका लागि पाठ हुन सक्छ । गर्भवती हुनु भनेकाे त एक महिलाकाे लागि स्वर्णिम अवसर हो । सबै भन्दा ठूलो आनन्दको पल हो ! याे बेला जति रमाउन सक्याे उति फाइदा ।

आखिर जीवन रमाउनकै लागि त हाे नि हाेइन र ? त्यसैले आफू पनि रमाऔँ, अरुलाई पनि खुलेर रमाउन दिऔँ ।